2026 August 22/ 04:26: 55pm

    बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा सन् २००८ देखि कृयाशिल संस्था विपिडब्लु बनेपाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सिकाउँदै विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आएको छ । सोहि संस्थाले पाँचौ सभा आयोजना गरेको छ । सभामा संस्थामा आवद्ध महिलाहरुको दक्षता र सिप विकासमा जोड दिदै नेतृत्व विकासमा समेत अग्रसर हुँने बताएको छ । 
    अध्यक्ष इश्वरी बादे श्रेष्ठले अन्तराष्ट्रिय सम्वन्ध र नेटवर्क रहेको उक्त संस्थाका नेपालमा रहेका विभिन्न शाखाहरु मध्ये काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको शाखाले उत्कृष्ट कार्य गरिरहेको बताईन् । काभ्रेका दाप्चा, बसेरी तथा श्यामपाटी लगायतका क्षेत्रमा संस्था मार्फत गरिएका कार्यहरुको विदेशबाट आएका संस्थाका प्रतिनिधिहरुले अवलोकन समेत गरेका थिए । संस्था स्थापना देखि नै महिलाहरुको स्वास्थ्य, सिप तथा महिलाहरुलाई आत्मर्निभर बनाउन गरिएका प्रयत्न तथा प्रयास र कार्यहरुको सभामा जानकारी गराईएको थियो । 
    सभामा संस्थाका सचिव रोजिना श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने कोषाध्यक्ष सुजाता बैदारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । सभाको बन्द सत्रले अध्यक्ष इश्वरी बादे श्रेष्ठ, उपाध्यक्ष सरिता पलाञ्चोके, सचिव रजुला मानन्धर र कोषाध्यक्ष सुजाता बैदारलाई निर्विरोध चयन गरेको छ । त्यस्तै कार्य समितिमा जिना श्रेष्ठ, रस्मि श्रेष्ठ, रचना मानन्धर, रामेश्वरी मानन्धर र रोजिना श्रेष्ठ रहेका छन् । त्यस्तै रामेश्वरी मानन्धरलाई नेतृत्व समितिको संयोजक, समिता राजवंशी पब्लिक रिलेसन समितिको संयोजक, रैसा स्याउला आईटी प्रमुख, सरला श्रेष्ठ प्रर्दशनी समिति प्रमुख र रिसा राजथलालाई ब्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिईएको छ । 
    विपिडब्लुले महिलाहरुको पाठेघर परिक्षण तथा आङ खस्ने समस्या, पिसाव चुहिने समस्या, फिजियोथेरापी लगायतका क्षेत्रमा निशुल्क शिविर आयोजना गरेको छ भने अन्य सिपमुलक कार्यहरु आयोजना गरेको छ ।