2026 August 22/ 03:17: 51pm

– चार वर्ष पछि सजायँ र क्षतिपूर्तिको फैसला
– जेल जाने कि क्षतिपूर्ति लिने ? योजनाकार जहिल्यै फरार

मोतीराम तिमल्सिना
धुलिखेल    

    अपराध गरेको चार वर्ष पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले अपराधमा संलग्नहरुलाई सजायँको फैसला सुनाएको छ । मुद्दा दायर भएको चार वर्षको बीचमा सोहि समुहले पुनः सोहि प्रकृतिको अपराध गरेको छ । पटक–पटक अपराधिक समुहको निशानामा परेको पवित्र फल बोधिचित्तकै बदनाम भएको छ । 
    पहिलो घटनामा पक्राउ परेकाहरुलाई सजाँय तोकेको भए पनि मुख्य योजनाकार फरार रहिरहँदा पुनः सोहि अपराध दोहोरिएको छ । हतियार सहितको अपराध अदालतमा विचाराधिन रहेकै समयमा पुनः सोहि स्थानमा दोश्रो पटक अपराध भए पछि जिल्ला अदालतले सोहि प्रकृतिको विचाराधिन मुद्दालाई अन्तिम किनारा लगाएको हो । जो नागरिक पीडित भएको बताउँदै हातहतियार सहित बोधिचित्तको रुखको दाना लुटेको, डाँका गरेको, ज्यान मार्ने प्रयास गरेको र लुटपाट गरेको अभियोगमा न्यायको लडाँई गरिरहेको थियो त्यहि नागरिक दोश्रो पटक सोहि प्रकृतिको अपराधमा संलग्न भएको छ । अदालतले उसलाई ढिला गरी न्यायको फैसला त ग¥यो तर उनी न्याय कार्यान्वयनका चरणमा जाँदा उनी आफै अभियुक्तको सूचीमा परे । 
    २०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरु विर्खबहादुर तामाङ समेत ९ जनाको समुले लुटेको अभियोगमा डाँका सम्वन्धी मुद्दा दर्ता गरेका थिए । मानबहादुर तामाङले खरिद गरेर किन्न नपाएका दाना सम्वन्धी मुद्दा जिल्ला अदालतमा विचाराधिन थियो । २०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द नेपालले सजायँ निर्धारणका लागि पेश गर्ने आदेश दिएका थिए । २०८१ बैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरुको सजायँ निर्धारण गरेको छ । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुर लगायत अहिले लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । चोरको खुट्टा काट भन्दा उचाले जस्तै मानबहादुर आफैले डाँका मुद्दा दर्ता गरेका थिए । सोहि अभियोगमा चार वर्ष पछि उनै मानबहादुर डाँका मुद्दामा पक्राउ परेका हुन् । 
    डाँका, ज्यानमार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर वापत कालु भन्ने राजकुमार तामाङ, काले भन्ने राधाकृष्ण मैनाली, विजय हुमागाई र विर्खबहादुर लामालाई जम्मा ९ बर्ष कैद र ९० हजार रुपैया जरिवना गरिएको छ । प्रतिवादी किरण तामाङलाई जम्मा ७ वर्ष ३ महिना कैद र ७२ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ । पीडित मानबहादुर भने अहिले हिरासतमा छन् । उनले दर्ता गरेको मुद्दाको फैसला नहुँदै मानबहादुर सहित ८ जनाको समुहले रुख नै काटिदिएको अभियोग दर्ता भएको छ । डाँका चोरी गरि लगेको विक्री सम्झौतामा उल्लेख भए अनुसारको बुद्ध चित्तको दानाको मुल्य गाउँपालिकालाई बुझाउनु पर्ने कर सहितको ९० लाख, सिसिटिभी क्यामेराको ९६ हजार १ सय, घाईतेहरुको उपचार बापतको २४ हजार २ सय ४९ रुपैयाँ दामासाहीले भराई दिने अदालतले ठहर गरेको छ । साथै कुरुवा ब्यक्तिहरुको १ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको मोबाईल बापतको क्षतिपूर्ति भने दावी नपुग्ने ठहर गरेको छ । घटनामा संलग्न अन्यलाई पक्राउ पुर्जी जारीको आदेश त्यतिबेला नै भए पनि प्रहरीले बाँकीलाई पक्राउ गर्न सकेको थिएन । त्यहि टोली प्रहरीले पक्राउ नगर्ने तर पीडित भनिएका मानबहादुर तामाङले भने भेटिरहेका थिए । कतिसम्म भने उनिहरुको फेरी अर्काे समुह बन्यो । लुटेरा समुहले पहिलाको क्षतिपुर्ति दिने विषय नसल्टाउँदै,अदालतको मुद्दा नसकिदै मानबहादुर सहितको संलग्नतामा अर्काे समुहले बोधिचित्त खरिद गरे लगत्तै आक्रोशित हुँदै रुख नै छिमोलिदिएको थियो ।
    चिनियाँ नागरिक याङ कैलिङ सहित लुटपाटमा ८ जना संलग्न रहेको किटानी जाहेरी दर्ता । डाँका, विस्फोट पदार्थ र संगठीत अपराध विरुद्धको कसुर सजाँयको माग । जाहेरवाला समिप त्रिपाठीले ५ करोड ४० लाख र रुख धनी निरबहादुरले ३० वर्षसम्म आम्दानी हुने रुखको बार्षिक १ करोडका दरले ३० करोड क्षतिपुर्ति माग गरेका छन् । साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठुलो बुद्धचित्तको रुखमा फल्ने बुद्धचित्तका दानाहरु अघिल्ला वर्षहरुमा सम्झौता गरी कारोवार समेत भएको थियो । पछिल्लो समय जाहेरी दिएका मध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दानाहरु उद्यारो माग्ने, सम्झौता बमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले समीप त्रिपाठीको समुहसँग २०८१ को सिजनमा फल्ने बुद्धचित्तका दानाहरुको सम्झौता गरी ९० लाख रुपैयामा किनेबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । सोहि सम्झौता अनुसार त्रिपाठी समुहले ठकुरानीलाई बैना बापतको ५० लाख रुपैया भुक्तानी भएको थियो । उक्त बुद्धचित्तका दानाहरु फल्ने रुख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखत समेत गरिएको थियो । प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने कर बाहेक माला धनीलाई ९० लाख रुपैयाँ दिने गरी कारोवार गर्ने सहमति भएको थियो । २०८० चैत्र २९ गते राति साढे ११ बजेको समयमा हातहतियार सहित घरको ४ ठाउँमा बम राखी घरमा सुतेका परिवारलाई र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्की दिदै विद्युतीय आरो प्रयोग गरी बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने बहुमुल्य माला फल्ने रुख काटिदिई घर जग्गा धितो राखी गरेको लगानी समेत डुबेको छ । उक्त सम्झौताबाट ५ करोड ४० लाख रुपैया क्षति भएकाले असुल उपर गरी डाँका, विस्फोटक पदार्थ र संगठित अपराधमा कारवाही गरि पाउँ भन्ने ब्यहोराको निवेदन त्रिपाठीले दर्ता गरेका छन् । 
    प्रहरीले घटना भएको महिनौ वितिसक्दा समेत मुख्य योजनाकार र थप ब्यक्तिहरुलाई पक्राउ गर्न सकेको छैन । हतियार सहित फौज बनाएर लिएर हिडेको उक्त समुहको बारेमा राज्य समयमै सचेत हुनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । किटानी जाहेरीमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङ, सोहि ठेगानाका २८ बर्षीय कबिन्द्र तामाङ, सुनसरी जिल्ला धरान उप–महानगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका १० बस्ने ४७ बर्षीय सत्यम लिम्बु, रोशी गाउँपालिका ५ बस्ने वर्ष ४१ का सागर मैनाली भन्ने रामकृष्ण मैनाली, रोशी गाउँपालिका ५ बस्ने २७ बर्षिय विजय हुमागाई, मानबहादुर र कविन्द्र तामाङसँगै बस्ने चाईनिज नागरिक बर्ष ३८ का याङ कैलिङ्ग, तेमाल गाउँपालिका ३ बस्ने ४० बर्षिय प्रभात भन्ने दुर्गालाल तामाङ र रोशी गाउँपालिका ५ बस्ने ३६ बर्षिय श्यामकृष्ण मैनाली छन् । प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा जनमुक्ति सेनाका पुर्व कमाण्डर प्रभात भनिने दुर्गालाल तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ रहेका छन् । प्रभातलाई काठमाडौ स्थित बनस्थलीबाट बर्गर हाउसमा नयाँ बर्ष मनाईरहेका बेला पक्राउ गरिएको हो भने मानबहादुरलाई सकेट बम राखेकै दिन पक्राउ गरिएको थियो । मैनालीलाई बनेपाबाट पक्राउ गरिएको हो । श्यामकृष्ण रामकृष्ण मैनालीका दाई हुन् ।