– अब १३ वटा कार्यालयको जिम्मेवारीमा महिला
धुलिखेल/जिल्लामा पहिलो पटक एकै पल्ट प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमा महिलाले जिम्मेवारी प्राप्त गरेसँगै विभिन्न कार्यालयमा प्रमुखको रुपमा महिलाहरुले जिम्मेवारी पाउने क्रम बढेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न संघ संस्थाले एकै पटक जिल्लामा ११ वटा कार्यालयमा महिलाहरु प्रमुख भएको भन्दै सम्मानको कार्यक्रम आयोजना गरेका थिए । पुनः थप दुई वटा कार्यालयले कार्यालय प्रमुखका रुपममा महिला प्राप्त गरेको छ । एउटा कार्यालयमा पुनः महिलालाई कार्यालय प्रमुखको जिम्मेवारी दिईएको छ ।
तथ्यांङ्क कार्यालय काभ्रेको सेवा विस्तार भएको छ । यस अघि काभ्रे, सिन्धुपाल्चोक, दोलखा मात्रै कार्यक्षेत्र भएको उक्त कार्यालयको नाम र क्षेत्र दुबै परिवर्तन भएको छ । तथ्यांक समन्वय कार्यालयका रुपमा अब रामेछाप जिल्लालाई समेत धुलिखेलमा रहेको कार्यालयले हेर्नेछ । तथ्यांङ्क समन्वय अधिकारीका रुपमा उप सचिव सान्त्वना शर्मालाई नियुक्ति गरिएको छ । यस अघि तथ्याङ्क कार्यालयमा अधिकृत तहको दरवन्दी थियो । दिपक कोईराला कार्यालय प्रमुखका रुपमा कार्यरत थिए । कोईरालाको बढुवासँगै गोर्खा जिल्लामा पदस्थापन भएको छ ।
त्यस्तै उपभोक्ता र निर्माण ब्यवसायीलाई कमिसन मागेर हैरानी दिएका खानेपानी तथा सरसफाई डिभिजन नम्वर ३ सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका डिभिजन प्रमुख अनिलप्रसाद केसरीका स्थानमा सृष्टी ख्वालावालालाई सरुवा गरिएको छ । उनी यस अघि चार वर्ष सोहि कार्यालयमा कार्यरत थिईन् । उनको पनि बढुवा सहितको पदस्थापन हो ।
स्वास्थ्य कार्यालय काभ्रेमा यस अघि निमित्त प्रमुखका रुपमा जनस्वास्थ्य अधिकृत अनिता खनाल कार्यरत थिईन् । कार्यालयले पूर्ण जिम्मेवारी सहितको कार्यालय प्रमुखका रुपमा रागीश्री कक्षपति श्रेष्ठलाई पाएको छ । स्वास्थ्य शिक्षा प्रशासकका रुपमा जिम्मेवारी प्राप्त गरेकी श्रेष्ठको उक्त क्षेत्रमा लामो अनुभव छ । चालु आर्थिक वर्षको यो अवधीमा जिल्लाका १३ वटा कार्यालयमा महिलाहरुले नेतृत्व सहितको जिम्मेवारी प्राप्त गरेका छन् । कर्मचारीहरुको प्रमुखका रुपमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा काभ्रेपलाञ्चोक जिल्लामा २०८० भाद्र १८ गते हाजिर भएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रमुखका रुपमा एसपी बसुन्धरा खड्का कार्यरत छिन् । २०८० माघ १५ गते शिक्षा विकास तथा समन्वय इकाईमा प्रमुखका रुपमा देवका ढकाल हाजिर भएकी थिईन् । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकमा २०७९ असोज ९ गते देखि डा.वशंवदा कौडिन्न्यायनी कार्यरत छिन् । पशु सेवा कार्यालय काभ्रेमा २०८० भदौ ३ गते देखि डा.सिर्जा वाग्ले भेटेरिनरी अधिकृतका रुपमा कार्यरत छिन् । जिल्लामा रहेको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा काभ्रे बनेपा निवासी मनिषा चापागाई कार्यालय प्रमुखका रुपमा कार्यरत छिन् । नागरिकहरुको स्वास्थ्य बिमामा सक्रिय भूमिका निर्वाह गरिरहेकी स्वास्थ्य बिमा बोर्ड काभ्रेमा संयोजकका रुपमा मुना निरौला कार्यरत छिन् । गुठी संस्थान कार्यालय काभ्रेपलाञ्चोकमा उर्मिला आचार्य कार्यरत छिन् । पनौती जलविद्युत्त केन्द्रमा प्रमुख सविना उप्रेती कार्यरत छिन् । राष्ट्रिय विमा कम्पनी लिमिटेड काभ्रेमा कार्यालय प्रमुखका चण्डिका सापकोटा कार्यरत छिन् ।
यि हुन महिला प्रमुख भएका १३ वटा कार्यालय र जिम्मेवारी
१) रुद्रादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक
२) बसुन्धरा खड्का, एसपी, प्रहरी प्रमुख
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक
३) डा. सिर्जा वाग्ले, भेटेरिनरी अधिकृत
पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोक
४) डा.वशंवदा कौडिन्न्यायनी, अधिकृत
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, काभ्रेपलाञ्चोक
५) देवका ढकाल, शिक्षा समन्वय अधिकारी
शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोक
६) रागी श्री कक्षपति श्रेष्ठ
प्रमुख एंव स्वास्थ्य शिक्षा प्रशासक
स्वास्थ्य कार्यालय, काभ्रे
७) मनिषा चापागाई, डिभिजन प्रमुख
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय
८) मुना निरौला, संयोजक
स्वास्थ्य बिमा बोर्ड, काभ्रे
९) सविना उप्रेती, प्रमुख
पनौती जलविद्युत्त केन्द्र
१०) उर्मिला आचार्य, प्रमुख
गुठी संस्थान काभ्रे
११) चण्डिका सापकोटा, प्रमुख
राष्ट्रिय विमा कम्पनी लिमिटेड, काभ्रे
१२) सृष्टी ख्वालावाला
डिभिजन प्रमुख, खानेपानी तथा सरफाई डिभिजन कार्यालय, सिन्धु र काभ्रे
१३) सान्त्वना अधिकारी
तथ्यांङ्क समन्वय अधिकारी
तथ्यांङ्क समन्वय कार्यालय, काभ्रे









