– वर्षेनी एक हजार भन्दा धेरै मुद्दा
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा २०७९ माघ २२ गते भुम्लु गाउँपालिका वडा नम्वर ५ सल्ले घर भई ललितपुर महानगरपालिका वडा नम्वर ५ जावालाखेल स्थित आमासँग बस्दै आएकी ३ बर्षीया सम्राक्षा लामा, ६ महिने बच्चा सम्राज्ञी लामा सहित ३४ बर्षीया जुनी तामाङले अंशचलन तथा मानाचामल सम्वन्धी मुद्दा ३९ बर्षिय श्रीमान् भरतकुमार लामा विरुद्ध दर्ता गरिन् ।
न्याय प्रशासन ऐन, २०७३ को दफा ७ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १८ बमोजिम अदालतको क्षेत्राधिकार भित्र दायर भएको उक्त मुद्दामा श्रीमान् भरतकुमार लामाले २०७९ चैत्र २६ गतेसम्म तारेख गुजारी थाम्ने थमाउने म्याद समेत बाँकी राखेनन् । प्रतिवादी हाजिर हुन आएका बखत मुद्दा जगाउने गरी अंश मुल मुद्दा भएकाले डिसमिस नभएकाले तामेलीमा राख्ने आदेश जिल्ला न्यायाधीश मोहनप्रसाद भट्टराईले २०८० असार २९ गते गरे । जुनी र भरतकुमार विरुद्ध २०७५ साल असोज ३१ सामाजिक परम्परा अनुसार विवाह भएको थियो । जेठी छोरी सम्राक्षाको २०७६ असार २३ र कान्छी छोरी साम्राज्ञीको २०७९ असार ३० गते जन्म भएको थियो । ज्याला मजदुरी गरेर ललितपुर बस्दै आएको परिवारमा सामान्य विषयमा असमझदारी बढ्यो । श्रीमती जुनीले श्रीमान् भरतकुमारसँग बस्न नसक्ने निष्कर्ष सहित दुई छोरी र आफ्नो समेत लालनपालन सहितको जिम्मेवारी लिने गरी कानुनी उपचारका लागि जिल्ला अदालत पुग्ने निर्णय गरिन् । भरतकुमारको उनी दोश्रो श्रीमती हुन् । पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भए पछि जुनीसँग विवाह भएको थियो । पहिलो श्रीमतीबाट जन्मिएका एक सन्तान छोरा उनकै साथमा छन् । जुनीले मासिक २० हजार श्रीमान् भरतकुमार र नभए उनका बाबुबाट समेत दिलाउन माग गरेकी थिईन् ।
मुद्दा दर्ता गरेको १४ महिना अर्थात् २०८० चैत्र ४ गते श्रीमती जुनी र श्रीमान भरतकुमार लामा बीच जिल्ला अदालतमा मुद्दा फिर्ता लिँदै मिलापत्रको सहमति भयो । अदालतमा जारी म्याद नबुझेका, म्याद गुजारेर मुद्दा तामेलीमा परेका थियो । एक वर्ष लामो छलफल, संवाद र आन्तरिक कचिंगल टुङ्गयाउने सहमति पछि मुद्दा फिर्ता लिदै जुनी र भरतकुमार बीच सहमति भयो । पहिलो विवाह असफल भएको थियो । पहिलो श्रीमतीबाट जन्मिएको सन्तान, दोश्रो श्रीमतीबाट जन्मिएका दुई सन्तानको भविष्यका लागि पनि उनिहरु मिल्नुको विकल्प देखेनन् र मिलापत्र गरेको प्रतिक्रिया दिए ।
बिग्रँदै परिवार, भत्कँदै सम्बन्ध
प्रविधि, खुल्लापन, अविश्वास, असमझदारी, आशंकाका कारण समाजमा पारिवारिक सम्वन्ध विंग्रँदै गएका छन् । ब्यक्तिका सम्बन्ध भत्कँदै गएका छन् । जिल्ला अदालतमा मुद्दा दर्ता गरेर सम्बन्ध विच्छेद भएका ब्यक्तिहरुले आफ्नै सन्तानलाई विचल्ली बनाएका कारुणिक दृश्यहरु देखिन थालेका छन् । ‘बाबु र आमा दुबैले सन्तानको जिम्मेवारी लिँदैनौं भन्दै बहस गरिरहेका हुन्छन्’–एक कानून ब्यवसायीले भने–‘सम्वन्ध विच्छेद र पारिवारिक असमझदारीले समाजमा विग्रह मात्रै निस्कँदै छैन । बालबालिकाहरुको अन्धकार भविष्य, गलत संगतका कारण हुन सक्ने अपराधका बारेमा समेत सचेत भएको देखिदैन ।’
आर्थिक वर्ष २०७९÷०८० को बार्षिक प्रतिवेदनमा पारिवारीक विवादका १ हजार २ सय ३७ वटा मुद्दा दर्ता भएको तथ्यांक उल्लेख छ । चालु वर्षको ९ महिनामा करिब ८ सय भन्दा धेरै मुद्दा पारिवारिक विवादका छन् । आर्थिक वर्ष २०७९÷०८० मा विवाह सम्बन्धी एउटा मुद्दा दर्ता हुँदा सम्बन्ध विच्छेदमा ६ सय ५९ वटा मुद्दा दर्ता भए । जसमा ५ सय ३८ वटा फछर्याैट भएका थिए । मातृत्व तथा पितृत्व कायम सम्वन्धी एउटा मुद्दा दर्ता भएको थियो । सम्वन्ध विच्छेद पछि अंशबण्डा सम्वन्धी ५ सय १९ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३ सय ४ वटा मुद्दा फैसला भए । अपुताली सम्बन्धी ६ वटा मुद्दा दताए भई ५ वटा फछर्याैट भएका थिए । मानाचामल सम्वन्धी ४९ वटा दर्ता भए । जसमा ३१ वटा सोहि आर्थिक वर्षमा टुङ्गिए । नाता कायम सम्बन्धी २ वटा गरी सोहि आर्थिक वर्ष पारिवारिक विवादका १ हजार २ सय ३७ मुद्दा दर्ता भएका थिए । जसमध्ये ८ सय ८२ वटा फछ्र्याैट भए भने ३ सय ५५ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका थिए । चालु वर्षमा दर्ता भएका पारिवारिक विवादका मुद्दाको संख्या गत वर्ष जस्तै उल्लेख्य छन् । जिल्ला अदालत काभ्रेकी अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार पारिवारिक विवाद सम्वन्धी मुद्दाको संख्यामा बृद्धि भएको छ । केहि मुद्दा दर्ता भए पछि मिलापत्र भएका पनि छन् । जिल्ला अदालतमा त्यस्तै बहुविवाह सम्वन्धी १२ वटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै सोहि आर्थिक वर्षमा सम्पत्ति सम्बन्धी ९ सय थान मुद्दा दर्ता भएका थिए । भोगाधिकारका २ वटा, जग्गा सम्बन्धी १ सय ७ वटा, लेनदेन सम्वन्धी २ सय ९८ वटा, सार्वजनिक जग्गा सम्वन्धी २ वटा, सम्पत्ति हस्तान्तरण १, लिखत बदरका ४ सय ८२, घरबहाल ४, दानवकस १ र क्षतिपुर्ति सम्बन्धी ३ वटा गरी ९ सय थान मुद्दा दर्ता भएका थिए । अहिले उक्त संख्या ह्वात्तै बढेको छ ।









