2026 August 22/ 08:08: 20pm

चौरीदेउराली/बागमती प्रदेशमा पहिलो पटक चौरीदेउराली गाउँपालिकाका पाँचवटा विद्यालयले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधी २०७४, संशोधित २०७६ ले तोकेका १० वटा मापदण्ड पूरा गरी तीन तारा घोषणा भए लगत्तै स्थानीय सरकारले संचालित सबै विद्यालयलाई तीन तारा घोषणा गर्ने गरी कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    भविष्यका लागि आधार परियोजनाको प्रगति प्रस्तुतीकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रेणुका चौलगाईले गाउँपालिका भित्र रहेका सबै विद्यालयहरुमा तीन तारा घोषणा गर्ने गरी आगामी वर्षको बजेटबाट रकम विनियोजन गर्ने र सोहि अनुसारका कार्यक्रमलाई केन्द्रित गर्ने बताईन् । ‘ बागमती प्रदेशमा पहिलो पटक चौरीदेउराली गाउँपालिकाका पाँचवटा विद्यालयमा तीन तारा घोषणा गरिए पछि सकारात्मक सन्देश प्रवाह भएको छ’–अध्यक्ष चौलागाईले भनिन–‘आगामी वर्ष सबै विद्यालयमा तीन तारा घोषणा गर्ने गरी शैक्षिक सत्र प्रारम्भ देखि नै कार्यक्रमलाई अघि बढाउन गाउँपालिका र साझेदार संस्था सिविक फोरमसँग समन्वय गर्नेछौं ।’ 
    समिक्षा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले बालबालिकाहरुका लागि खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम प्रभावकारी मात्रै नभई आवश्यक भएकाले सिविक फोरमले वाटर एडको आर्थिक सहयोगमा संचालन गरेको कार्यक्रमको निरन्तरताको आवश्यकता रहेको बताए । गाउँपालिकाले उक्त कार्यक्रमको निरन्तरताका लागि आवश्यक समन्वय र पहल गर्ने प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले बताए । 
    कार्यक्रममा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले     वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा सिविक फोरमले २०२२ देखि सहजिकरण गरिरहेको उक्त कार्यक्रम पालिकामा रहेका ३३ वटा विद्यालयहरुमा पुरा गराउने गरी कार्य भईरहेकोे बताए । स्थानीय सरकारसँगको समन्वयमा भएका काम सहज र सरल भएको बताउँदै कुँवरले आगामी दिनमा पनि गाउँपालिकाले आवश्यकता महसुस गरे निरन्तरता दिने प्रतिवद्धता बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख कालिप्रसाद शर्मा, वडा अध्यक्षहरु चित्रप्रसाद चौलागाई, कृष्णप्रसाद गौतम, धनबहादुर तामाङ र रामबहादुर लामाले तीन तारा घोषणाका लागि केहि मापदण्डहरु पुरा गर्न बाँकी रहेका विद्यालयहरुमा मापदण्ड पुरा गरी तीन तारा लागु गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सिविक फोरमका बरिष्ठ कार्यकारी अधिकृत बसन्त कुँवर, भविश्यका लागि आधार परियोजना प्रमुख सान्त्वना कार्की लगायतले परियोजना अघि, परियोजना पछि र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । 
    चौरीदेउराली गाउँपालिकामा रहेको वडा नम्वर ६ मा रहेको प्रभा माध्यमिक विद्यालय, वडा नम्वर ७ मा रहेको सिर्जनशिल जनता माध्यमिक विद्यालय, वडा नम्वर ५ रहेका अरनिको माध्यमिक विद्यालय र जागृति माध्यमिक विद्यालय, वडा नम्वर ३ मा रहेको बुद्ध हिमालय माध्यमिक विद्यालयले नेपाल सरकारले तोकेका १० मापदण्ड पुरा गरेका थिए । विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले विद्यालयले पुरा गर्नु पर्ने १० वटा सूचकहरुमा खानेपानी, शौचालय, सफा, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता ब्यवस्थापन, विपद जोखिम तथा ब्यवस्थापन, अनुगमन तथा जवाफदेहिता पुरा गरेका आधारमा तीन तारा घोषणाका लागि अनुमति दिने ब्यवस्था छ । चौरीदेउराली गाउँपालिकाको आयोजना तथा सिविक फोरमको सहजिकरणमा तीन तारा घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको थियो । 
    चौरीदेउराली गाउँपालिकामा रहेका ५९ वटा विद्यालय अहिले ३३ वटामा सिमित भएका छन् । २०७४ सालमा ५९ वटाबाट ५३ वटा विद्यालय कायम भएकोमा ५ वर्षको अवधीमा २० वटा विद्यालय बन्द भएका छन् । चौरीदेउराली गाउँपालिकामा हाल ९ वटा वडा छन् । ९ वटा वडामा रहेका १२ वटा माध्यमिक तहका विद्यालय मध्ये १० वटा संचालनमा छन् । प्राथमिक तहका १५ वटा विद्यालय बन्द भएका छन् । आधारभुत तहका ८ वटा विद्यालय बन्द भएका छन् । गाउँपालिकाले केहि विद्यालयको तह घटुवा गरेको छ । आगामी शैक्षिक सत्रबाट दर्जनौ विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।