2026 August 22/ 08:08: 21pm

दुई वर्ष नाघेका ४९ वटा मुद्दा फैसला हुन सकेका छैनन् । 

मोतीराम तिमल्सिना
धुलिखेल

    जिल्ला अदालत काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म १ हजार १ सय १६ वटा मुद्दाको फैसला गरेको छ । १ हजार २ सय ३८ वटा मुद्दा फैसलाको लक्ष्य लिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकले ९०.१५ प्रतिशत मुद्दाको फैसला गरेको हो । 
    जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत शाखा अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार अदालतले लिएको बार्षिक लक्ष्य अनुसार आठ महिनाको लक्ष्यमा ९० प्रतिशत मुद्दाको फैसला भएको छ । ‘चालु आर्थिक वर्षको फागुनमा १ सय ८२ लक्ष्य लिएकोमा १ सय ६६, माघमा १ सय २२ लक्ष्य रहेकोमा १ सय ८४, पौषमा १ सय ३१ लक्ष्य रहेकोमा १ सय ७९, मंसीरमा १ सय ७७ लक्ष्य रहेकोमा १ सय ७७, कार्तिकमा १ सय २३ लक्ष्य रहेकोमा ४६, असोजमा १ सय ९६ लक्ष्यमा १ सय २४, भाद्रमा २ सय १८ लक्ष्यमा १ सय २९ तथा श्रावणमा ८९ लक्ष्यमा १ सय ११ थान मुद्दा फैसला भएका छन्’– सूचना अधिकारी भण्डारीले भनिन–‘जिम्मेवारी सरी आएका मुद्दा १ हजार २ सय २८ र नयाँ मुद्दा समेत गरी २ हजार ४ थान अनुमानित बार्षिक फछर्याैट गर्ने लक्ष्य छ । बाँकी चार महिनाको अवधीमा लक्ष्यमा पुग्ने अनुमान गरेका छौं ।’ फैसला भएका मुद्दाहरु मध्ये जिम्मेवारी सरेर आएका ६ सय ६६, नयाँ दर्ता भएका ४ सय ५० वटा छन् । जसमध्ये सरल मार्गका ६ सय ९१, सामान्य मार्गका ३ सय ३९ र विशेष मार्गका ७७ थान छन् । बन्दीप्रत्यक्षीकरणको एउटा मुद्दा फैसला भएको छ । 
    चालु वर्षको यो अवधीसम्म जिम्मेवारी सरेका १२ सय २८ थान, नयाँ दर्ता १२ सय ७४ थान गरी २५ सय २ थान लगत रहेकोमा ११ सय १६ फछर्याैट भएर १३ सय ८६ थान बाँकी छ । दुई वर्ष नाघेका अझै ४९ थान मुद्दा फैसला हुन बाँकी छन् । डेढ वर्ष माथीका ७० थान, डेड वर्ष भित्रका १ सय ५४ थान, एक वर्ष अवधीका ४ सय ९४ थान र ६ महिना भित्रका ६ सय २१ थान मुद्दा फैसला हुन बाँकी छ । फछर्याैट भएका मध्ये ६ महिना भित्रका २ सय ६२ थान छन् । ६–१२ महिना अवधीका ५ सय २ थान, १२–१८ महिना अवधीका १ सय ८८ थान, १८–२४ महिना अवधीका ६५ थान मुद्दा फैसला भएका छन् भने २ वर्ष नाघेका ९९ थान मुद्दा फैसला भएका छन् ।
    जिल्ला अदालत काभ्रेपलाञ्चोकमा यसअघि मोहनराज भट्टराई र रिताकुमारी बख्रेल समेत गरी पाँच जना न्यायाधीशहरुले चालु वर्षमा मुद्दा फैसला गर्नु भएको छ । हाल प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपाल, विश्वनाथ भट्टराई र शिवकुमार पोखरेल    कार्यरत छन् । न्यायाधीश नेपालले लक्ष्यको ११३.५ प्रतिशत, भट्टराईले १५०.२ प्रतिशत र पोखरेलले ७१.५ प्रतिशत मुद्दा फैसला गरेका छन् । मोहनराज भट्टराईले ४३.१ प्रतिशत र रिताकुमारी बख्रेलले ६४.७ प्रतिशत मुद्दा फैसला गरेर सरुवा भएका थिए । भट्टराई उच्च अदालतका न्यायाधीशका लागि बढुवा सहित सरुवा भएका हुन् । 
    जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दाका अलावा फुटकर र विशेष प्रकृतिका निवेदनहरु पनि दर्ता हुने गरेका छन् । चालु वर्षको यो अवधीमा फुटकर निवेदन ९ सय ५६ वटा दर्ता भएका थिए । जसमध्ये ४ सय ३२ वटा फछर्याैट भएका छन् । विशेष प्रकृतिका १ सय ७४ वटामा १ सय ४८ वटा फछ्र्याैट भए । कुल निवेदनहरु १ हजार १ सय ३० वटामा ५ सय ८० वटा फछर्याैट भएका छन् । 
    चालु अवस्थामा रहेका मुद्दामा संलग्न २ जना बालबालिका, ४ जना महिला र ७९ जना पुरुष छन् । हालसम्म ८५ जना ब्यक्ति थुनुवाका रुपमा रहेका छन् । एक वर्ष भित्रका ३४, एक वर्ष नाघेका १० समेत गरी ४३ वटा थुनुवाका मुद्दा फछ्र्याैट भए पनि जिम्मेवारी सरेका ३५ र नयाँ ५७ गरी ९२ थान मुद्दामा ४९ थान मुद्दा अझै बाँकी छन् । ४९ थान मुद्दाका ८५ जना थुनामा रहेका छन् । 
    फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गर्न नसकेको जिल्ला अदालतले ६ सय ६७ वटा लगतमा २ सय ८६ वटा मात्रै कार्यान्वयन गर्न सफल भएको छ । ३ सय ८१ वटा मुद्दाको फैसला कार्यान्वयन बाँकी छ । कैद १८ सय ८५ वर्ष ३ महिना ८ दिन असुल गर्न बाँकी रहेकोमा १ सय ५३ वर्ष १० महिना २८ दिन असुल भएको छ । अझै १७ सय ३२ वर्ष ८ महिना १५ दिन असुल गर्न बाँकी छ भने ७३ करोड ७१ लाख ४० हजार ८ सय ९५ रुपैया ६६ पैसा जरिवना असुल गर्न बाँकी छ । चालु वर्षको यो अवधीमा ८८ लाख ७९ हजार ४ सय ८३ रुपैया असुल भएको छ । ७४ करोड ६० लाख २० हजार ३ सय ७८ रुपैया जरिवना असुल गर्नु पर्ने लगत कायम भएको थियो । 
    जिल्ला अदालतले परामर्श सेवा निरन्तर दिएको बताएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत शाखा अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले समुदायमा अदालत कार्यक्रम, परामर्श सेवा, मिट द जज, बार बेन्च अन्र्तक्रिया, न्याय क्षेत्र समन्वय समिति बैठक, योजनाको आन्त्रिक प्रगति समिक्षा, सडाउनुपर्ने कागजातहरु सडाउने नियमित कार्यक्रम लगायतका गतिविधिहरु भईरहेको बताईन् । चालु वर्षमा मात्रै १ हजार २ सय मिसिल सडाईएको छ । संचारकर्मीसँग अन्र्तक्रिया, फैसला कार्यान्वयन सम्वन्धी तालिम, टिपोट तालिम र फैसला लेखन सम्वन्धी तालिम, संहिता सम्वन्धी पुर्नताजगी तालिम, बैतनिक कानून ब्यवसायीको कारागार भ्रमण, जिल्ला बाल न्याय समितिको बैठक लगायतका नियमित हुने गतिविधिहरु भईरहेको भण्डारीले बताईन् । 
    अदालतबाट जारी म्याद तामेलीलाई समेत प्रशासनले प्राथमिकतामा राखेको छ । जिम्मेवारी सरेका ३४ थान, नयाँ दर्ता भएका ५१ सय ९२ थान गरी ५२ सय २६ थान मध्ये ५ हजार ७५ थान तामेली भएका छन् । तामेली हुन बाँकी १ सय ५१ थान मध्ये पुरानो २०८० माघ २ गतेको मुद्दाको रहेको छ । उक्त मितिका ५७ थान छन् ।