2019 July 18/ 06:30: 22am

    धिक्कार छ छोरीको जीवन । बरु खेतबारीमा खन्याउने मलको डोकोको महत्व हुन्छ, छोरीको महत्व त्यति पनि नहुने रहेछ । बारीमा पुगेको किसानले मलको डोको खन्याउन सोच्छ कहाँनिर खन्याँउदा राम्रो हुन्छ ? छोरी, जसले जन्म दियो, हुर्कायो, बढायो, पढायो उसैले उसको भावना विपरीत इज्जत जोगाउने नाममा, दायित्व पूरा गर्ने नाममा भावना नै नबुझी अर्काको घरमा पठाईदिन्छ । उसले कर्तब्य पूरा ग¥यो होला, त्यसको जिम्मेवारी लिनेहरुले पनि सोच्नुपर्छ होला मान्छेको मन सबैको एकैखालको हुन्छ । कसैको दुख्ने, कसैको नदुख्ने ? मान्छे कठोर, क्रुर, धोकेवाज, अवसरवाद, स्वार्थी हुँदो रहेछ । सोझोपनको फाईदा उठाउँदै मान्छेले मान्छेलाई गर्ने ब्यवहारले उसको दरिद्रता प्रष्ट हुन्छ । समाज यहि हो, लाञ्छना विनाको संघर्ष, संर्घष विनाको जीवन अपूरो जस्तै हुने रहेछ । छोरी, बुहारी अझ भनौं महिलाहरुसँग प्रतिस्पर्धा गर्न सकिएन भने ? उनिहरुको स्वाभिमानलाई पचाउन सकिएन भने केहि न केहि आरोप काफी हुने रहेछ । थुप्रै भोगाई, पीडाबाट गुज्रिएका नेपाली चेलिहरु शिक्षित हुँदा हुँदै पनि झनै पीडामा बाँचिरहेका छन् । अशिक्षित महिलाहरुको जीवन, दुर्गम बस्तिको भोगाई अझै कस्तो होला ? औंसीको रात जस्तै निष्पट अँध्यारोबाट उज्यालो खोज्ने साहस छ तर साहारा छैन । आँट छ तर विश्वास छैन । 
    श्रीमान छैन भनौ जिउँदै छन् । छन् भनौ भने तिनको सामीप्यता छैन । श्रीमान वितेका महिलाहरुले एकल जीवन विताउँदाको पीडाहरु जति छन् श्रीमान भएर एकल जीवन विताउँदाका पीडा अझै बढि लाग्दो रहेछ । छैन भने मन नै एकोहोरो हुने, बुझाउन सकिने भएर पनि त्यस्तै ब्यवहार गरेपछि मन बुझाउँनै कठिन । चाडपर्व आउँछन, अझ महिलाहरुको विशेष चाड तिज । यो वर्ष पनि नजिकिदै छ । श्रीमानले जे गरे पनि ब्रत बसिन्छ । उनकै दीर्घायू र सुस्वास्थ्यको कामना गरिन्छ । विश्वास छैन तर पनि छाड्न सक्दिन । संस्कृति, परम्पराले मान्छेलाई अन्धो बनाउँदो रहेछ । त्यहि अन्धोपनबाट म बाहिर निस्कनै सकेको छैन । श्रीमान भए पनि नभए पनि, उसले माया गरे पनि नगरे पनि, चासो राखे पनि नराखे पनि म उसकै लागि व्रत बस्छु । उसकै जीवनको दिर्घायूको कामना गर्छु । यो मेरो भ्रम र यथार्थता दुवै हो । यसबाट म मुक्त हुनै सक्दिन । धेरैले भन्छन् लोग्नेले दिएको यस्तो चरम यातनाबाट मुक्त हुन अर्काे किन विवाह नगर्ने ? जन्म दिने बाबु आमा, दाजु भाई इष्टमित्रले समेत उमेरमै लोग्नेले दिएको भोगाईबाट विर्सन अर्काे विवाहको जरुरी भएको सुझाव दिन्छन् । मेरो मन मान्दै मान्दैन । एउटा लोग्ने जसले अग्नी साक्षी राखेर सिन्दुर चढायो । उहि आफ्नो हुन सकेन भने अब हुने विवाह, दोश्रो श्रीमानले कसरी ममता दिन सक्छ ? मान्छेको जात शंका, उपशंका गर्दै हत्या समेत गर्न सक्ने अवस्थामा त्यस्तो खुशी दिने दोश्रो सम्वन्ध कसरी हुन सक्छ ? किन जन्म दियौ भगवान मलाई ? सम्झन्छु, रुन्छु, रुँदा रुँदा कतिबेला थाक्छु, आँखा विजाउन थालेछु सम्झन्छु अब आँशु सकिए होला ? केहि क्षणमै रुन आउँछ फेरी आँशुको बाढी बग्न थाल्छ । यति धेरै रुँदा पनि किन भगवानले ज्यान लिन सकेनन् । पटक पटक त्यस्तो प्रयास नगरेको होइन । तर पनि लगेनन् । 
    सिन्धुली जिल्लामा २०५१ साल असार २२ गते मेरो जन्म भयो । आमा मैया र बुबा चन्द्र तामाङको एक्लो छोरी थिएँ म । दुई छोरी र दुई छोराको सानो परिवारको खुशी दैवले उतिबेलै चुँडेर लगेका थिए । मेरो बहिनी सानै उमेरमा वितिन् । जन्मेको छैटीकै दिन भावीले मान्छेको भाग्य कोरिदिएको हुन्छ भन्ने भनाई छ । सायद मेरो कर्ममा जे जे लेखेको छ आज त्यहि भोगिरहेको छु । बुबाले घर नजिकैको विद्यालयमा भर्ना गरिदिनु भएको थियो । कक्षा २ सम्मको अध्ययन सकेर मैले अध्ययन छाडिदिएँ । बहिनीको निधन भए पछि म पनि विरामी भएको रहेछु । धेरै विरामी भए पछि मैले अध्ययन गर्न छाडेको थिएँ । सबैले माया मारेका रहेछन् । अध्ययन राम्रो थियो त्यसबेलासम्म । लामो समयसम्म विरामी हुँदा बुबाले अस्पताल र धामी झाँक्री सबैकोमा पु¥याउनु भएको रहेछ । त्यसले केहि त कम भयो तर मेरो अध्ययनलाई बाधा पा¥यो । बुबाआमालाई घरको काममा सहयोग गर्ने बाहेक अरु केहि गरिनँ । घरमा भएका भंैसी चराउने र खेतिपाती मुख्य पेशा रह्यो । खेतीपातीकै सिलसिलामा बनेपामा मजदुरी गर्ने योजनामा हामी गाउँका केहि ब्यक्तिहरु आयौं । केहि समय मजदुरी गर्दा गर्दै सिन्धुपाल्चोक घर भएका युवकसँग भेट भयो । उनी र म सँगै मजदुरी गर्न थाल्यौं । केहि समय हामीले निर्माण क्षेत्रमा काम ग¥यौं । काम गर्दा गर्दै उनको र मेरो प्रेम बस्न गयो । 
    मजदुरी कडा थियो । विहानै हामी घरघरमा ढलानका लागि जान्थ्यौं । कहिलेकाँहि हामी अन्य काममा पनि सहभागी हुन्थ्यौं । जे भए पनी उनी र म सँगै हुन्थ्यौं । प्रेम त्यस्तो शक्ति रहेछ जसले जन्म दिने बुबा आमा सबैलाई विर्सन पुगिने रहेछ । साथीभाईको पनि मतलब हुँदो रहेनछ । भर्खरको उमेर फरक लिङ्ग प्रतिको चाहना हुनु स्वभाविक पनि होला । केहि महिना उसको र मेरो प्रेम बसेपछि हामी भाग्ने निर्णय ग¥यौं । हुन त हामी उसै पनि भागे सरह नै थियौं । उसको घर सिन्धुपाल्चोक मेरो सिन्धुली । यहाँ हाम्रो भन्ने कोहि थिएन । मात्र एक्ला एक्लै बस्ने गरेका थियौं । एउटा साईत बनाएर साथीहरुको बीच हामीले मन्दिरलाई साक्षी राखेर २०७० साल बैशाखमा विवाह ग¥यौं । यो कुरा बुबा आमालाई चित्त बुझेको थिएन । घर परिवारको सहमति विना मैले गरेको निर्णय उहाँहरु विरुद्ध थियो । दुबै तर्फका बुबा आमा नआएपछि हामीसँग अर्काे विकल्प पनि थिएन । म एक्लै काम गर्दा मैले घरमा केहि रकम पठाउने गरेको थिएँ । विवाह पछि त्यो सम्भव भएको थिएन । तर पनि मैले केहि रकम पठाएको थिएँ । उहाँहरुले लिन मान्नु भएन । छोरीको कमाई कति खानु ? कम्तिमा छोरीलाई कसैको जिम्मा लगाउँदा त सम्झिन नचाहने छोरीको पसिना किन लिनु ? बुबा आमाले धेरै चित्त दुखाउनु भएको रहेछ । बहिनी बनेपामा आएर केहि दिन हामीसँगै बसेकी थिईन् । उनले मेरो बाध्यता सबै सुनाएकी रहिछन् । बुबा आमाले रकम लिन नचाहे पनि हामी दुबैको एक महिनाको कमाई ऋण तिर्नु भनेर बहिनीलाई पठाएका थियौं । 
    विवाहको केहि समय पछि सिन्धुपाल्चोक स्थित उनको घरमा पुग्यौं । मेरो माईतीको भन्दा निम्न अवस्था थियो । त्यो अवस्थालाई अलिक माथी उठाउनु हाम्रो दायित्व थियो । बुबा आमा अलिक बृद्ध भईसक्नु भएको रहेछ । कान्छो छोरा भएकाले उनी प्रतिको माया धेरै थियो । बुहारी ल्याएकोमा खुशी भए पनि विवाहमा नबोलाएकोमा उहाँहरु पनि दुखी हुनुहुन्थ्यो । केहि दिन हामी घरमै बस्यौं । दिदी बहिनीहरुको विवाह भई सकेको थियो । गरिवका घरमा कसरी हुन्छ र विवाह ? कोहि आफै गए । कसैले आफै ल्याए । जहाँ गरिव छन् त्यहाँ धेरै सन्तान जन्मन पुग्दा रहेछन् । तर पनि उनिहरु बाँचिरहेका छन् । काँचो पिठो मिठो बनाएर खाँदाको रमाईलै छ्ुट्टै थियो । त्यो अवसर भनौ वा संकट हाम्रो परिवारमा थियो । केहि महिना गाउँमा बसे पछि हामी पुनः शहरमा काम गर्न फर्कियौं । दुबै जना नियमित काममा जाने गरेका थियौं । विवाहको ६ महिना पछि म गर्भवति भएँ । गर्भवति भए पछि ममा केहि समस्या देखियो । बुबा आमाले म गर्भवति भएको खबर सुने पछि सिन्धुली बोलाउनु भयो । केहि महिना सिन्धुली पनि गएर बसें । उहाँहरुको खुशी, माया र असन्तोष त्यहि बेला मेटाएँ । उहाँहरु प्रति गर्नु पर्ने मेरो दायित्व र जिम्मेवारी विवाहमा नबोलाउनु बाहेक अरु केहि बाँकी थिएन । तर पनि बुबा आमाको माया असाध्यै धेरै हुने रहेछ । आफ्नो सन्तान मरि जाओस् भन्ने कुरा चाँहि मेरा अभिभावकमा मैले देखिन । त्यसैले पनि म रमाउन सकें । केहि दिनको बसाई पछि बनेपा फर्किएँ । श्रीमान नियमित काममा गईरहेका थिए । हामी तिमी तिमी भन्ने गर्दथ्यौं । एउटै थियो उमेर । उमेरमा गरेका निर्णय सबै सहि हुन्छन भन्ने पनि थिएन । हुँदैन भन्ने पनि थिएन तर पनि नगरी पनि सुख थिएन । समयले हामीलाई त्यो अवस्थामा पु¥याईसकेको थियो । त्यसकारण हामीले कसैलाई पर्खन सकेनौं । 
    गर्भवति भए पछि मैले काम खासै गरिनँ । केहि महिना काममा गएँ । तर उनले र मैले नै सल्लाह गरेर पेटमा हुर्कँदै गरेको बच्चालाई स्वस्थ रुपमा जन्मन दिन हामीले त्यो निर्णय गरेका थियौं । त्यो निर्णय आमा र बच्चाका लागि त सहि भयो तर मेरो भविश्यका लागि सहि हुन सकेन । उनि नियमित काममा जान्थे । म घरमै बस्न थालें । उनले विस्तारै रक्सि खान थाले । रक्सिबाट छुटाउन मैले धेरै प्रयास गरें सम्भव भएन । सँगै काम गर्दा उनि रक्सि खाँदैन थिए । रक्सि खाए पनि उनले शुरुमा खासै नराम्रो गरेनन् । विस्तारै उनको बानी विग्रदै गएको थियो । मैले सम्हाल्न सकेको थिएन । म सु्त्केरी भएँ । अस्पतालमा पुगेर मेरो बच्चा जन्मियो । केहि दिनको अस्पताल बसाई पछि हामी कोठामा फर्कियौं । मेरो रेखदेखका लागि माईतीबाट बहिनी आईन् । फुपु दिदी काठमाडौ हुनुहुन्थ्यो । उहाँ पनि आउनु भयो । त्यो समयमा उहाँले पनि आफ्नो बानी सुधार्नु भयो । सुत्केरी भएको एक महिना पछि म माईती घर सिन्धुली गएँ । बुबा आमाको राम्रो रेखदेख पछि तीन महिनामा पुनः बनेपा फर्किएँ । बनेपा फर्कँदा उनी पुरै रक्सिमा डुबिसकेका थिए । रक्सिको सुरमा उनले मलाई कोेठामा आएर कुट्ने पिट्ने मात्रै गरेनन् । म र बच्चाका लागि कहिल्यै चामल समेत किनेर ल्याएनन् । शुरुको समयमा माईतीबाट ल्याएर खाएर बसें । पछि ६ महिनाको बच्चा काखमा बोकेर काममा जान थालें । उसले मलाई आफु गएको स्थानमा काममा लगेन । तर पनि मैले अरुसँग काम गरेर भोको पेट पाल्न र काखको बच्चा स्याहार्न थालें । 
    त्यो क्रम चलिरह्यो । उसको घरमा पनि केहि थिएन । विस्तारै उ कोठामा आउन छाड्यो । मेरो फोन पनि उठाउन छाड्यो । उ त अर्की केटीसँगको सम्वन्धमा रमाउन थालिसकेछ । हुँदा हुँदा उ बनेपाबाट काठमाडौ काम गर्न जान थालेछ र बस्न पनि उतै थालेछ । मैले पनि बनेपामा कोहि मेरो नभएकाले बालाजुमा फुपुको घर नजिकै डेरा लिएर काम गर्न थालें । छोरी हुर्कँदै जान थाली । बाबा खोई भनेर सोध्दा मैले जवाफ दिन सकिन । एक महिना वित्यो । एक वर्ष वित्यो तर पनि उ सम्पर्कमा आएन । उसको आफन्तको घर बनेपाको पुलबजारमा रहेछ । पत्ता लगाए । उसले नागरिकता बनाएको रहेछ । त्यसको फोटोकपि पनि पत्ता लगाएँ । उसलाई कहिल्यै भेट्न सकिनँ । चार वर्ष वित्यो । उसले कहिल्यै श्रीमती र छोरी भनेर फर्किएर हेरेन । फुपुकै साहारामा मैले ठेलागाडा चलाउन थालेका थिएँ । दिनको २ सय जति कमाईले पनि मेरो ज्यान धान्न सहज भएको थियो । छोरीलाई विद्यालयमा भर्ना गर्न खोजेको थिएँ । विद्यालयले बच्चाको जन्म दर्ता माग्यो । उसको जन्म दर्ता गर्न हाम्रो विवाह दर्ता चाहिने रहेछ । म उसको घर सिन्धुपाल्चोक पनि पुगें । उ घरमा पनि छैन । एक मन सासु ससुरासँँगै बसौ जस्तो लाग्यो । अर्काे मन सिन्धुलीमा बाबा आमासँग बसौ जस्तो लाग्यो । तर पनि मेरो मनले मानेन । जन्म दर्ता नहुने भए पछि शहर फर्किएँ । न विवाह दर्ता, न जन्म दर्ता, न नागरिकता । बास्तवमै महिलाहरुले पाउनु पर्ने दुःख यति मात्रै हो कि अरु पनि हुन्छन् । श्रीमानको माया र ममता जति बेला पाउनु पर्ने त्यति बेला त पाउन सकिएन सकिएन । बच्चाको अभिभावक बन्ने बेला पनि उनि आफ्नो हुन सकेनन् । म जस्ता चारवटा महिलाहरुलाई उसले धोका दिई सकेको रहेछ । मोवाईल बोक्दैन । भेट कतै हुँदैन । म जहाँ जहाँ खोज्दै जान्छु त्यहाँबाट भागिरहेको छ । श्रीमान होईन भनौ भने हो । भनौ भने वेवारिसे अवस्थामा परियो । बुबा आमाको भावनामा ठेस पु¥याएको त्यहि पीडा भयो । न माईतीमा भन्न सक्छु । न घरमा भन्न सक्छ्ु । तर पनी नभनी भएको छैन । 
    उजुरी बोकेर इलाका प्रहरी कार्यालय बनेपा आएँ । प्रहरीले पनि खोजतलासका लागि सबै प्रहरी चौकी मातहत पत्र पठाएको छ । तर पनि उ फेला पर्दैन । मैले कानुनी रुपमा उसलाई छोडपत्र दिएर सहज बनाउन खोजेको थिएँ । मान्छे नै नभए पछि के को छोडपत्र ? अलपत्र परेको मान्छेलाई कुनै पत्रले पनि काम गर्दाे रहेनछ । उमेर पनि धेरै भएको छैन । उमेर छ, बल छ, जवानी छ । तर पनि मनमा चैन र सुख छैन । कच्चा उमेरमा गरेको प्रेम र विवाहबाट कति मान्छे यो संसारमा दुःखी बनाएको होला । प्रेम खेलौना बन्दैछ । खेलौना प्रेमबाट जन्मेका सन्तान झनै खेलौना बन्न थालेका छन् । जस्तासुकै कानुन बने पनि मान्छेको नियत नै खराब भए पछि कसको के लाग्दो रहेछ र ? न्यायसँगै श्रीमान खोजिरहेको छु । 

जानुका घलान
बनेपा, काभ्रे