2024 April 26/ 09:00: 38pm

    बनेपा/आर्थिक वर्ष २०७६/२०७६ का लागि चालु आर्थिक वर्षको असार १० भित्रै प्रस्तुत गर्नु पर्ने नीति तथा कार्यक्रम र बजेट जिल्लाका केहि स्थानीय तहले अझै प्रस्तुत गरेका छैनन् । पाँचखाल नगरपालिकाले बजेटको सुरसार नै गरेको छैन भने अन्य केहि तहले बजेट सभा तोकेका छन् । 
    पनौती नगरपालिकाले असार २३ गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ भने पाँचखाल नगरपालिका, खानीखोला र तेमाल गाँउपालिकाले अझै बजेट प्रस्तुत गरेका छैनन् । पाँचखाल नगरपालिकाको बजेट प्रस्तुत गर्ने टुङ्गो अझै छैन । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बजेट प्रस्तुत गर्ने तयारी नपुगेकाले मिति तोक्न नसकिएको बताए । तेमाल गाउँपालिकाले असार २७ गतेलाई परिषद् तोकेको छ । यस अघि गाउँकार्यपालिका सदस्यहरुको विवादले बजेट तयारी बैठक समेत बस्न सकेको थिएन । खानीखोला गाउँपालिकाको असार २६ गतेलाई परिषद् तोकिएको छ । 
    धुलिखेल नगरपालिकाले आईतबार बजेट पारित गरेको छ । नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका अशोक ब्याञ्जुले संसदीय प्रकृया मार्फत असार १० गते परिषद् शुरु गरी असार २२ गते सम्पन्न गरेको बताए । सभासद्हरुलाई शुन्य समय मार्फत जनसरोकारका विषय उठान गरी सभाको ध्यानाकर्षण गराउने अवसर समेत प्रदान गरिएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सहित विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । रोशी गाउँपालिका र महाभारत गाउँपालिकाले पनि बजेट पारित गरिसकेका छन् । 
    मण्डनदेउपुर, नमोबुद्ध, बनेपा नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँपालिकाले बजेट प्रकृयामा रहेको र केहि दिनमै पारीत गर्ने समयावधी राखेका छन् । चौरीदेउराली गाउँपालिकाले असार १० पछि बजेट प्रस्तुत गरेको थियो । स्थानीय सरकारका बारेमा आलोचना भईरहँदा समयमै बजेट ल्याउने, बजेट पास भए पछि समयमै उपभोक्ता समिति अथार्त ठेक्का कुन विधिबाट कार्य गर्ने हो त्यसको टुङ्गो लगाई समयमै काम सम्पन्न गर्नु पर्नेमा त्यस्तो हुन सकेको छैन । केन्द्रिय सरकारबाट प्राप्त हुने बजेट तथा एकात्मक राज्यकै परिपाटीमा स्थानीय सरकारले काम गरिरहेका छन् । असार महिनामा पनि उपभोक्ता समिति गठन गरी कामको सुरसार गर्ने स्थानीय सरकारले केहि रकम खर्च गर्न नसकी फिर्ता समेत पठाएका छन् । 

पनौती नगरपालिका

पनौतीको बजेट १ अरब २६ करोड
    पनौती/पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 
    असार २३ गते प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा नगर सभा सदस्यहरुले धारणा राखेका थिए । पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाले गौरवका योजनाहरुका लागि रकम विनियोजन गरेको छ । उपप्रमुख गिता बञ्जाराले १ अरब २६ करोड १ लाख २६ हजार बजेट प्रस्तुत गर्नु भएको थियो । सभामा पनौती नगरपालिकामा कर दस्तुर लगाउने उठाउने सम्वन्धमा ब्यवस्था गर्न विधेयक ईश्वराज जंगमले प्रस्तुत गरेका थिए भने बजेट बाँडफाँड विधेयक सहकुलकुमार हुमागाईले प्रस्तुत गर्नु भएको थियो । कर्मचारी सम्वन्धी ब्यवस्था बुद्धसिंह थापा, बार्षिक तलबी प्रतिवेदन गुणनाथ सापकोटा, राजश्व परामर्श समितिको प्रतिवेदन केशव बञ्जारा, लेखापरिक्षण प्रतिवेदन मोहनबहादुर भण्डारी, अनुमोदन गराउनु पर्ने नगरकार्यपालिको निर्णयहरु किशोर थापा, फरफारक भएका योजनाहरुको समर्थन प्रस्ताव श्रीधर पाध्या कुँईकेल, न्यायिक समितिको प्रतिवेदन नीला अधिकारी, विपद् ब्यवस्थापन प्रतिवेदन सुधीर सापकोटा, समग्र प्रतिवेदन रामचन्द्र नास्नानी तथा धन्यवाद प्रस्ताव पुरुषोत्तम अधिकारीले पेश गरेका थिए । 
    नगर सभामा पुण्यमाता करिडोरलाई वैकल्पिक सडकका रुपमा राखिएको छ भने ढल निकासा, अरुण मार्ग मोटरबाटो स्तरोन्नती कार्य, नपा चोक संखेल मोटरबाटो, त्रिबेणीघाट खोपासी बैकल्पिक सडक, भालेश्वर, चालिसे बजार मोटरबाटो, शहिदपार्क निर्माण, सेतीदेवी पिकनिक स्पट, शंखु दाहालटार खानेपानी योजना र लिलावती सिंचाईलाई गौरवका योजनाको नाम दिईएको छ । बसपार्क जग्गा ब्यवस्थापन र सडक कालोपत्रे सहित गौरवका योजनालाई २० करोड ६० लाख बजेट विनियोजन गरिएको छ । 

 

बनेपा नगरपालिका

नेपालकै पहिलो डेरी पुनर्निर्माण गरिने
    बनेपा/बनेपा नगरपालिकाको नगरसभाको पाँचौ अबिधेशनको दोस्रो बैठक सम्पन्न भएको छ । तेश्रो बैठक असार ३० गते तोकिएको छ । 
    बैठकले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पास गरेको छ । नगरले आगामी तीन वर्ष भित्रमा सबै वडा कार्यालय सम्म पक्की सडकको पहुँच पु¥याउने, आधारभुत शिक्षालाई अनिवार्य र निःशुल्क गराउने नीति लिएको छ । नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरु मध्ये एसईईमा उत्कृष्टका आधारमा तीनवटा विद्यालयलाई नगद सहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने बताएको छ । प्रत्येक सामुदायीक विद्यालयमा ईन्टरनेटको पहुँच पु¥याईने छ भने ई हाजिरीको ब्यबस्था गरिने छ । त्यसैगरी महिलासँग उपमेयर कार्यक्रम, महिला विकास परिषद्, युवा परिषद्, बालमैत्री नगर बनाउन गरिनेछ । प्रत्येक वडामा जेष्ठ नागरिक आराम तथा भेटघाट गृह निर्माण, दलित परिषद् लगायतका परिषद्हरु गठन, बनेपा ४ नालामा रहेको नेपालकै पहिलो दुग्ध चिस्यान केन्द्र भग्नावशेषका रुपमा रहेकोले सार्वजनिक निजी साझेदारीको माध्यमबाट सञ्चालनमा ल्याउने नीति लिईएको छ । स्वच्छ स्वस्थ मासु वितरणलाई ब्यबस्थित र प्रभावकारी गराउन एक ब्यबस्थित पशुपंक्षी बधशाला बनाउने, बनेपाको टनचोक, नागीडाँडा, नाला बासुकी, शशीपानी, गुम्बाडाँडा, बाउनडाँडा, नगरकोट भ्युटावर, पेरुङ्गे बन र डुँडाको मुख देवीस्थानमा भ्युटावर निर्माण गर्ने, चण्डेश्वरी पारीको वनलाई ब्यबस्थित पिकनिक स्पटको रुपम मर्निङवाक सेन्टरका रुपमा विकसित गर्न गोसाईकुण्ड र भ्युटावर सम्म १३००÷१४०० सिंढी निमार्ण कार्य यसै वर्षबाट निर्माण शुरु गर्ने, बनेपा नगरपालिका वडा नं. २, ३ र ४ स्थित हिलेजलजलेमा बहुउदेश्यीय कृतिम ताल निर्माण कार्यक्रम अगाडी बढाउन पहल गर्ने भएको छ । 
    फोहोर मैला ब्यबस्थापनका लागि नयाँ जापानिज प्रबिधिबाट निजी क्षेत्रसँग सहकार्य गरी ब्यबस्थापन गर्न विशेष प्रस्ताव पास गरेको छ । नगरका सार्वजनिक भूमिको पहिचान र अभिलेखन गरी अतिक्रमणलाई नियन्त्रण गरिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत प्राप्त हुने कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनको वातावरण बनाई स्थानिय बेरोजगारलाई लाभान्वित हुने वातावरण निर्माण लगायत रहेका छन् । सभाको बैठक नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा बसेको थियो । उपप्रमुख रेखा सापकोटा दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । 

धुलिखेल नगरपालिका

‘विनियोजन विधेयक’ सर्वसम्मतले स्वीकृत
    धुलिखेल/धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत गरेको विनियोजन विधेयक सर्वसम्मतले पास भएको छ । आईतबार सम्पन्न परिषद् बैठकले सभामा प्रस्तुत विनियोजन विधेयक लगायतका अन्य ७ वटा विधेयकहरु पास गरेको छ । 
    नगर सभाले जात्रा पर्व सम्वन्धी कार्यविधि पास गरेको छ । सामुदायिक विद्यालय, प्रश्नपत्र तयार, योजना परिषद्, करार सेवा ब्यवस्थापन, आर्थिक विधेयक लगायत पास गरेको छ । आगामी वर्षका लागि धुलिखेलले ‘एक हप्ता एक दिन खेत बारीमा केहि छैन’, ‘एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम’, ‘एक वडा एक नमुना पशु फार्म’, ‘एक वडा एक नमुना विद्यालय’, एक वडा एक सांस्कृतिक समुह’, सुकुम्बासी मुक्त नगर’, ‘उपप्रमुखसँग महिला कार्यक्रम’, ‘एक खेलमैदान, एक पोखरी, एक नर्सरी र एक बाल उद्यान’, ‘मेयर गरिबी निवारण’, ‘छुवाछुत सामाजिक अपराध हो’ समुदाय स्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम, ‘एक घर एक धारा’, ‘क्लिन धुलिखेल ग्रिन धुलिखेल’ कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने नगर सभा अध्यक्ष एवं नगर प्रमुख अशोक ब्याञ्जुले बताए । संसदीय प्रकृयाबाट सम्पन्न कार्यक्रममा नगर सभा सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो । असार १० गते नगर प्रमुख अशोक ब्याञ्जुले बार्षिक नीति तथा कार्यक्रम (बजेट) र विनियोजन विधेयक प्रस्तुत गरेका थिए । सन् २०२० सम्ममा समग्र नगरलाई बालमैत्री नगरपालिका बनाउने नीति पास भएको छ । आगामी वर्षका लागि नगरपालिकाको प्रस्तुत गरेको ७८ करोड ४८ लाख १८ हजार बजेट सर्वसम्मतले पास भएको छ । नगर सभामा उपप्रमुख विमला शर्माले आर्थिक वर्ष २०७५/०७६ मा भएका मुख्य कार्यहरु तथा आर्थिक विधेयक सभाले सम्र्वसम्मत पास भएको छ । 
    नगरपालिकालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पर्यटन ब्यवसायी सम्वद्ध संघ संस्थाको साझेदारीमा पर्यटन ब्यवसाय तथा अन्य महत्वपूर्ण कार्यहरु गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । नगरपालिकाले हालसम्म ३१ वटा कानून पास गरिसकेको छ ।