2024 April 27/ 08:58: 53am

मोतीराम तिमल्सिना
खानीखोला, ताल्ढुङ्गा

    स्थानीय तहमा निर्वाचन भएको दुई वर्ष पूरा भएको छ । खानीखोला गाउँपालिकाले अभाव नै अभावका बीच नागरिकहरुको सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । 
    कर्मचारी, पूर्वाधार तथा अन्य ब्यवस्थापकीय अभावमा खानीखोला गाउँपालिकाले नागरिक सन्तुष्ट हुने गरी कार्य गरेको प्रतिक्रिया दिएका छन् । ‘बन्द हुने अवस्थामा रहेका विद्यालयहरुलाई बार्षिक बजेट ब्यवस्थापन गरी शिक्षामा गुणस्तरीयताका लागि अभियान शुरु गरिएको छ’–खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने–‘गाउँपालिकाका नाममा बेरुजु देखिए पनि विद्यालय बन्द हुन दिईएको छैन ।’ भुकम्पबाट भत्किएका विद्यालयहरु पुनर्निर्माण शुरु गरिएको छ । गाउँपालिकालाई पूर्ण साक्षर, खुल्ला दिशामुक्त घोषणा गरिएको छ । भुकम्प पीडितहरुलाई घरघर सोलार वितरण गरिएको छ । ९० प्रतिशत पीडितहरुले अनुदान प्राप्त गरेका छन् । संचारबाट टाढा रहेको गाउँपालिकाका सबै नागरिकहरुले नेपाल टेलिकमका सबै सुविधा उपभोग गर्न थालेका छन् । टेलिकमको टावर निर्माण पछि इमेल इन्टरनेटलाई सहज भएको छ भने राष्ट्रिय विद्युत सेवाका लागि ९० करोडको बजेट विनियोजन भईसकेको छ । त्यसको पहल खानीखोला र महाभारत गाउँपालिका दुवैले निरन्तर गरिरहेका थिए । हेल्टार–ताल्ढृुङ्गा थ्री फेजको लाईन विस्तार भएको छ । आगामी दशैंसम्म राष्ट्रिय प्रसारण लाईनको विजुली बाल्ने गरी कार्य शुरु भएको छ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा ब्यवस्थापन भएको छ भने ताल्ढुङ्गा अस्पताललाई जग्गा उपलब्ध भएको छ । स्थानीय कमल बञ्जाराले आफ्नो नाममा भएको जग्गा अस्पताललाई उपलब्ध गराएका हुन् । अस्पताल निर्माणको प्रकृया शुरु भएको छ । १५ शैयाको अस्पताल चालु वर्ष देखि नै निर्माण शुरु भएको छ । 

– अस्पताल निर्माण शुरु, दशैंबाट झलमल्ल गाउँ
– संचार र एम्बुलेस सेवा
– औषधी छ, स्वाथ्यकर्मी छैनन्
– ३१ दरवन्दीमा चार कर्मचारी
– ४९ किमी नयाँ सडक, ५१ वटा स्तरोन्नती
– कृषिमा आधुनिकिकरण, पशुमा नश्ल सुधार
– आय–आर्जन प्राथमिकतामा
– बार्षिक ३ करोडको कफि निर्यात 

    गाउँपालिका अध्यक्ष खुलालले डुुम्रे पहिरो खहरे नियन्त्रण कार्य शुरु भएको बताए । बालबालिका र महिलाहरुको स्वास्थ्य कार्यक्रम शुरु भएको छ । सबै वडामा सुविधायुक्त सेवा प्रदानका लागि वडाहरुमा भवन निर्माण, सुत्केरी गराउन बर्थिङ्ग सेन्टर र एम्बुलेन्स खरिद गरिएको अध्यक्ष खुलालले बताए । कृषिलाई आधुनिकीकरण गर्दै लैजान सिंचाई कार्यक्रम शुरु गरिएको छ भने पशुमा नश्ल सुधार गरिएको छ । वन वातावरण जोगाउन विशेष कार्यक्रम संचालन गरिएको छ । सबै वडामा सडक सञ्जाल जोड्ने गरी त्रिब गतिमा निर्माण कार्य भईरहेको छ । गत आर्थिक वर्षमा मात्रै ४९ किमी सडक निर्माण गरिएको छ । ५ करोड ३० लाख गत वर्ष सडकमा खर्च भएको छ भने ५१ वटा सडक स्तरोन्नती गरिएको प्रवक्ता मानबहादुर गोलेले जानकारी दिए । सडकलाई आयआर्जनको माध्यम बनाउन कफि खेति शुरु गरिएको छ । ३ करोडको बार्षिक कफि विक्री हुन थालेको प्रवक्ता गोलेले जानकारी दिए । 
    खोपासी ताल्ढुंगा कर्मैया सडकलाई सदरमुकाम जोड्ने गरी लगातार निर्माण कार्य शुरु गरिएको छ । च्याल्टी फलामेटार महादेवटार खण्डको निर्माण तथा तराई जोड्ने द्रुत गतिको सडक बनाउन निरन्तर कार्य भईरहेको छ । पनौतीबाट ४१ किमी टाढा रहेको भिमसेनस्थानलाई आकर्षक पर्यटकीय स्थल बनाउन भौतिक पूर्वाधारको कार्य शुरु भएको छ । धार्मिक हिसाबले पनि उक्त क्षेत्रलाई हिन्दु धर्मावलम्वीहरुले आस्थाको धरोहर बनाउँदै आएका छन् । पञ्चबली, पशुुहरुको दुध चढाउने तथा अन्य कार्यका लागि मन्दिर परिसरमा ट्रष्ट निर्माण कार्य शुरु गरिएको छ । गाउँपालिकामा सिसिटीभी जडान गरिएको छ । 
छैनन् कर्मचारी
    खानीखोला गाउँपालिकाको स्विकृत दरबन्दी ३१ हो । वडामा खटिने कर्मचारी बाहेक ३१ वटा दरवन्दी रहेको गाउँपालिकामा चार जना मात्रै कर्मचारी कार्यरत छन् । लेखा अधिकृत छैनन् लेखापालले काम गरिरहेका छन् । २७ जना कर्मचारी नहुँदा पनि गाउँपालिकाले सेवा उपलब्ध गराईरहेको छ । प्रमुख प्रशासकिय अधिकृत, दुई इन्जिनियर र एक लेखापाल बाहेक दरवन्दीका कर्मचारी उपलब्ध छैनन् । 
    ७ वटा वडा रहेको खानीखोलामा ६ जना सचिव थिए । अरु कर्मचारीको त कुरै नगरौ । समायोजनबाट ३ जना सचिव गएका छन् । एकजना थपिएर अहिले चारजना कार्यरत छन् । वडामा रहेका स्वास्थ्य चौकीहरुमा पनि समायोजनका कारण समस्या भएको छ । भएका कर्मचारीहरु जाने र नयाँ नआउने कारण समस्या भएको प्रवक्ता गोलेले जानकारी दिए । प्राविधिक नहुँदा भएको समस्या अनुगमन, मुल्याङ्कन र स्टमेटमा देखिएको छ । वडा सदस्य, वडा अध्यक्षले नै कर्मचारी नहुँदा वडा कार्यालय चलाउनु परेको छ ।